कर्णालीका गेमचेन्जर परियोजनाको खबरदारी जरुरी

कर्णाली प्रदेश देशकै कान्छो प्रदेश हो । भौगोलिक हिसाबले यो प्रदेशमा केही समस्या होलान् तर सम्भावनाका हिसाबले कर्णाली प्रदेश देशकै सबैभन्दा आर्थिक उपार्जन गर्नसक्ने क्षमता राख्ने प्रदेशको रूपमा रहेको छ । कर्णाली प्रदेशमा रहेका अथाह स्रोत साधनहरूको समुचित रूपमा प्रयोग गर्न सकेको खण्डमा मात्रै कर्णाली प्रदेशले देशकै आर्थिक अवस्था सुधारमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने अवस्था देखिएको छ । यहाँको समग्र विकासका लागि राजनीतिक नेतृत्वमा पनि केही न केही समस्याहरू देखिएका छन् । अर्कोतर्फ कर्णालीका आम नागरिकहरूको पनि विशेष खबरदारी हुननसक्नु कर्णालीका बासिन्दाहरूकै लागि दुःखको कुरा हो । केही वर्ष अघिसम्मका उदाहरणहरूलाई केलाउने हो भने कर्णाली प्रदेशको नाममा काठमाडौँमा महल खडा गर्ने नेता, नेतृत्व र अभियान्ताहरु पनि धेरै भेटिएका छन् । यहाँको सम्भावना उत्पादन, पर्यटन, कृषि र पूर्वाधारको विषयसँगै कर्णाली नदीमा अथाह सम्भावनाको खानीको रूपमा रहेको विद्युत् उत्पादनको विषय किन अहिलेसम्म ओझेलमा परेको छ ? भेरी करिडोरलगायतका सडकहरूको कामको जिम्मेवारी लिएकाहरू किन कानमा तेल हालेर बसेका छन् ? अहिले पनि कर्णाली प्रदेश गरिव छ भन्ने नाममा सम्पन्न भएका स्थानहरू जो नेताहरूको पहुँचमा छन् ती स्थानहरूमा अनावश्यक रकम खर्च गरिएको छ ।

कर्णाली प्रदेश, जो रारा ताल, से–फोक्सुण्डो लगायतका निकै मनोरम दृश्यहरू भएका स्थानहरूसम्म पुग्नका लागि अहिलेसम्म सहज यातायातको व्यवस्थापन हुन सकेको छैन । विश्वका मानिसहरूको आशाको केन्द्र मानिएको कैलाश मानसरोवर जाने बाटो पनि कर्णाली प्रदेशबाटै भएर जानुपर्ने छ । तर यस्तो अथाह सम्भावना भएको कर्णाली प्रदेशको सडक व्यवस्थापन भने प्रभावकारी हुन सकेको छैन । कर्णाली राजमार्गसँगै अन्य वैकल्पिक मार्गहरूको निर्माणका विषयहरू अहिलेसम्म ओझेलमा परेका छन् । जल, जमिन, जंगल र जडीबुटीसँगै पर्यटकीय क्षेत्रको निकै ठूलो सम्भावना बोकेको कर्णालीको विकास भयो भने कर्णाली प्रदेश देशकै धनी प्रदेश बन्न सक्छ । यस विषयलाई मनमा राखेर यहाँका जो नेता, नेतृत्व र पार्टी गम्भीर भएर लाग्छ त्यसलाई कर्णाली प्रदेशका जनताले कहिल्यै बिर्सन सक्ने छैनन् । यो विषयलाई यहाँका नेता, नेतृत्व र पार्टीले बुझ्न जरुरी छ ।

कर्णाली प्रदेशमा अहिले पनि विकास गर्ने हैन खाने हो मात्र भन्छन् भनेर जुन भाष्य सृजना गरिएको छ त्यस्ता गलत प्रवृत्ति र भाष्यहरूलाई चिर्नका लागि कर्णाली प्रदेशका विषय विज्ञहरूले एक पटक काठमाडौँमा विशेष अभियान चलाउनुपर्ने देखिएको छ । तर त्यस्ता अभियानहरू काठमाडौँमा महल ठडाउनेहरूले मात्र चलाए भने त्यसमा पनि केही न केही आशंका मान्नुपर्ने देखिन्छ ।

अब यस्ता व्यक्तिहरूले कर्णालीको समग्र विकासका लागि आवाज उठाउनुपर्ने देखिएको छ । जो व्यक्तिहरूले विगतदेखि कर्णाली प्रदेशमै बसोबास गरिरहेका छन् । जसले कुनै पनि जग्गा, जमिन वा घर, घडेरी अन्यत्र जिल्लामा जोडेका छैनन् । जो कर्णालीमै जन्मेर र कर्णालीकै लागि आफ्नो कर्म गर्छौँ भन्ने सोच राखेका छन् त्यस्ता खाले भुईँ मान्छेहरूले कर्णालीको समग्र परिवर्तनको आवाज सरकार र सांसदसम्म पु¥याउनुपर्ने हुन्छ ।

कर्णाली प्रदेश मात्र हैन, सिङ्गो नेपालको आर्थिक अवस्था परिवर्तन गर्नसक्ने परियोजनाहरू माथिल्लो कर्णाली, फुकोट कर्णाली, भेरी करिडोर, कर्णाली राजमार्ग, मध्यपहाडी राजमार्ग, भेरी बबई डाइभर्सन, नलगाड विद्युत् आयोजना, चौकुने सिमेन्ट खानी, बड्डीचौर हुँदै लगाम जाने मदनभण्डारी राजमार्ग, जाजरकोट–दुनै–डोल्पा सडक, दैलेख–महावु हुँदै नाम्चेनाग्ला सडकसँगै दैलेखको पेट्रोलियम अन्वेषणलगायतका योजनाहरूका लागि कर्णालीका संघ र प्रदेशका सांसदहरूको कहिले एउटै स्वर आउने हो त्यो भने हेर्न बाँकी नै छ । अब भाषणमा हैन काममा कर्णालीको विकास देखाउनुहोस् नेता गण । कर्णालीका जनताले तपाई नेताहरुलाई भाषणमा होइन विकासमा हेर्न चाहेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार